समाचार · २०७१ पुष २९ 0

आमाको नामबाट नागरिकता बन्ने संविधान ल्याउछु – प्र.म कोईराला


रामकुमार परियार    | २०७१ पुष २९


 
काठमाडौं, २९ पुस – प्रधानमन्त्री सुशील कोइरालाले भावी संविधानमा आमा वा बाबु दुबैको नाममा नागरिकता पाउने व्यवस्था गर्ने बताएका छन् । नेपाली कांग्रेसका महिला सभासदसँगको भेटमा मंगलबार उनले नागरिकताका सम्बन्धमा ‘बाबु र आमा’ को ठाउँमा ‘बाबु वा आमा’ राख्ने विश्वास दिलाएका हुन् । 
महिला सभासदहरुले वंशज नागरिकतामा ‘आमा वा बाबु’ को प्रावधान राख्नुपर्ने र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला र नेपाली महिलासंग विवाह गर्ने विदेशी पुरुषको नागरिकता पाउने अधिकार समान हुनुपर्ने माग गर्दै प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाएका थिए । 

कोइरालाले महिलाहरुले घरब्यवहार राम्रोसँग चलाएजस्तै राज्य सञ्चालनमा पनि सफल हुने बताए । ‘जसरी घर सम्हाल्नुभएको छ, राष्ट्र पनि घर नै हो’ उनले भने ‘राष्ट्रप्रतिको जिम्मेवारी किन निर्वाह गर्न सक्नुहुन्न ?’ कांग्रेस नेतृ सुजाता कोइरालाको नेतृत्वमा पुगेका महिला सभासदले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा महिला हक अधिकार सम्बन्धी विषयहरु नयाँ संविधानमा समेट्न आग्रह गरिएको छ । 
ज्ञापनपत्रमा नयाँ संविधानमा मुलुकको सबै संरचनामा जनसंख्याको आधारमा समानुपातिक सहभागिताको सुनिश्चित गर्नुपर्ने र महिलाहरुको लागि महिला क्षेत्र आरक्षण गरिने व्यवस्थाको माग गरिएको छ । (चक्रपथ )