समाचार · २०७२ बैशाख १६ 0

नर्वेले भुकम्प पिडितलाई थप १ अर्ब ३२ करोड दिने


रामकुमार परियार    | २०७२ बैशाख १६


२९ अप्रिल २०१५ ।
प्रमुख युरोपेली दातृराष्ट्र नर्वेले नेपालका भुकम्प पीडितलाई सहयोगार्थ थप १ सय मिलियन क्रोनर अर्थात  नेपाली रुपैयाँ १ अरब ३२ करोड दिने भएको छ । यसअघि गत शनिबार नेपाल सरकारले भुकम्प पीडितको उद्दारमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायमा आव्हान गरे लगत्तै नर्वेले पहिलो चरणमा ३० मिलियन क्रोनर अर्थात नेपाली रुपैयाँ ४० करोड राहत तत्काल घोषणा गरेको थियो ।

नर्वेकी प्रधानमन्त्री अर्ना सुल्बर्गले सोमबार साँझ राजधानी ओस्लोमा आयोजित पत्रकार सम्मेलनमा सो घोषणा गरेकी हुन् । उनले भनिन् – ‘राजधानी काठमान्डौ बाहिरका पीडितहरुको समेत उद्धार र तत्काल उपचारपछि भुकम्प पीडित बालबालिकाहरुको सुरक्षा र उनीहरुको पठन पाठनका लागि सो रकम खर्च गर्न नर्वे इच्छुक रहेको छ ।’ खासगरी भुकम्प प्रभावित क्षेत्रमा हैजा तथा महामारी फैलिन नदिन , पिडित हरुको उद्धार र उपचारमा प्राथमिकता दिइने नर्वेका विदेश मन्त्री बोर्गे ब्रेन्देले सो अवसरमा बताए ।

रेडक्रस नर्वेले अर्को सातादेखि भुकम्प पीडित विकट ग्रामिण क्षेत्रमा ६० शैयाको घुम्ती अस्पताल सञ्चालन गर्न संयुक्त राष्ट्र संघबाट स्वीकृति पाएको र त्यसको तयारी भैरहेको समेत उनले बताए । यसैबीच नर्वेस्थित विभिन्न संघ-संस्थाले समेत भुकम्प पीडित नेपालीलाई  सहयोगका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेर करोडौं  रूपैयाँ संकलन गरेका छन् । रेडक्रस र सेभ र चिल्ड्रेन नर्वे (रेड बार्ना) ले मंगलबार साँझ सम्म झन्डै २६ मिलियन क्रोनर (नेपाली ३५ करोड रुपैयाँ) संकलन गरेको जनाएका छन् । गैर आवासीय नेपाली संघ नर्वेले १ लाख क्रोनर (नेपाली १३ लाख रुपैयाँ) संकलन अभियान सञ्चालन गरेको संघका प्रथम उपाध्यक्ष संजिव थापाले बताए ।

यसैगरी मुख्य शहरहरु ओस्लो,स्ताभान्गर,बर्गेन, ट्रोम्सो र त्रोनहामस्थित नेपाली विद्यार्थीहरुको सक्रियता र स्थानीय संघ संस्थाको सहभागितामा राहत संकलन अभियान संचालन भैरहेका छन् । राजधानी ओस्लो स्थित अस्केर र बारुम नगरपालिकाले यो विपदको बेला आफ्ना सवा २ लाख नगरबासीलाई प्रति व्यक्ति १ क्रोनर सहयोग गर्न आव्हान गरेको छ ।

प्लान नोर्गे,धार्मिक संस्था किर्केन नोद हेल्प लगायतका संस्थाहरुले राहत संकलन अभियान अन्तर्गत लाखौं रुपैयाँ संकलन गरेको र नेपाललाई दिर्घकालिन रुपमा सहयोग आवस्यकता पर्ने भएकोले अभियान जारि राख्ने जनाएको छ । नर्वेमा पुनर्वास गराइएका नेपालीभाषी भुटानीहरुले पनि नेपालको विपद्‌मा सहयोग गर्न अभियान नै चलाइरहेका छन् ।