समसामयिक · २०७८ बैशाख १२ 0

आखिर किन हतार गरे ओलिले धरहरा उद्घाटन गर्न ?


रामकुमार परियार    | २०७८ बैशाख १२


२०७२ साल बैशाख १२ गते अर्थात ६ वर्ष अघि आजकै दिन ढलेको थियो धरहरा । त्यसैलाई पुनर्निर्माण भन्दै बनाईएको नक्कली धरहराको हिजो मात्रै प्रधानमन्त्री केपि शर्मा ओलिले हतार हतार उद्घाटन गरेर शिलालेखमा आफ्नो नाम लेखाए । 

नयाँ बनाईएको धरहराको अहिले स्तम्भ मात्रै खडा भएको छ । बाहिर रंगरोगन गरेर चिटिक्क पारिएको छ । ४२ रोपनी क्षेत्रफलको परिसर भित्र बनाईएको यो धरहरामा अहिलेसम्म गजुर राखियो , शिवलिङ्ग स्थापन गरियो । बस यत्ती हो भएको , अझै ५० प्रतिशत काम बाँकी नै छ , जुन पूरा गर्न अझै ७ महिना लाग्छ ।

आगामी पुषमा मात्रै यो सर्वसाधारणका लागि खुला गरिनेछ । अहिले त स्तम्भकै बेसमेन्टमा समेत पुरा ढलान भईसकेको छैन , भित्र ढ्वाङमात्रै तयार भएको छ । म्युजियम बनाउने , पार्किङ बनाउने , मनमोहक बगैंचा बनाउने , भुँईचालो स्मारक बनाउने काम त डल्लै बाँकी छ ।
धरहरा बनि नसक्दै किन हतार गरे प्रधानमन्त्रीले यसको उद्घाटन गर्न ? राजनैतिक रुपमा दिनप्रतिदिन उनी कमजोर हुँदै गएका छन , सत्ता आज होकि भोलि भन्ने स्थितिमा छ । उनि कतिबेला पदच्युत हुन्छन भर छैन । सायद यहि भएर होला उनले हतार गरेका । किनभने उनी सत्ताबाट हटेपछि यसको उद्घाटन नयाँ बन्ने प्रधानमन्त्रीले गर्नेछन ।
आफुले शिलान्यास गरेको धरहरा अरुले उद्घाटन गरिदेलान कि भन्ने त्रासले गर्दा उनले धरहरा निर्माण नै नभई उद्घाटन गरेको अनुमान लगाउन सकिन्छ । माथी गजुर देखिएपनी अझै ७ महिना सर्वसाधारण यो धरहरा चढ्न पाउने स्थिति छैन । धरहराको भित्री भागको फिनिसिङको काम पनि अझै सकिएको छैन । अहिले तल्लो तल्ला र बिसौँ तला मात्रै तयार भएको छ । बाहिरबाट हेर्दा पुरै तयार भएको जस्तो देखिएको छ ।
तिन तले पार्किङ बनाउने भनिएकोमा अहिलेसम्म तल्लो तलाकै काम पनि पूरा भएको छैन । सुन्दर बगैंचा र पानीको फोहोरा राख्ने भनिएको ठाउँ पनि लथालिङ्ग देखिन्छ । अहिलेसम्म १ अर्ब ६७ करोड रकम खर्च भएको छ । निर्माण कम्पनी रमण कन्सट्रक्सनले ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का लिएको थियो । १ अर्ब ८१ करोड रुपैयाँ अझै खर्च हुन बाँकी छ । यसबाट पनि धरहराको काम अझै कति बाँकी छ भन्ने छर्लङ्ग पार्छ ।
२०७५ पौष १२ गते शिलान्यास भएको धरहरा २ वर्ष भित्र बनाउने सम्झौता थियो । तर कोरोनाका कारण भएको लकडाउनका कारण आगामी मंसिर सम्मलाई म्याद थपिएको छ । निर्माण कम्पनीले २०७८ पुषमा यसको निर्माण सक्नुपर्ने छ ।